Section 10
रोक्ने वा भत्काउने

१०.१ दफा ९ अन्तर्गत समितिले नियमित, नियन्त्रण वा निषेध गरेका काम कुराहरू कसैले समितिको पूर्व स्वीकृति विना गरेमा वा समितिले स्वीकृति दिंदा कुनै शर्त वा मापदण्ड तोकिदिएको भए त्यस्तो शर्त वा मापदण्ड विपरीत हुने गरी गरेमा समितिले त्यस्तो काम तत्काल रोक्ने आदेश दिन सक्नेछ र त्यस्तो कामको सिलसिलामा कुनै निर्माण गरेको रहेछ भने समितिले पैंतीस दिनको म्याद दिई सम्बन्धित व्यक्तिलाई त्यसरी समितिको स्वीकृति विना वा शर्त वा मापदण्ड विपरीत निर्माण गरेको जति भाग भत्काउन वा हटाउन आदेश दिन सक्नेछ ।
१०.२ उपदफा १०.१ बमोजिम समितिले कुनै निर्माणको भाग भत्काउन वा हटाउन दिएको आदेश उपर चित्त नबुझ्ने व्यक्तिले सो आदेश पाएको मितिले पैंतीस दिनभित्र दफा २० बमोजिमको पुनरावेदन समिति समक्ष उजूरी दिन सक्नेछ । सो उजुरीको सम्बन्धमा पुनरावेदन समितिले उजुरी परेका मितिले तीस दिनभित्र निर्णय गर्नु पर्नेछ र त्यस्तो निर्णय अन्तिम हुनेछ ।
१०.३ उपदफा १०.२ बमोजिम उजुरी परेकोमा पुनरावेदन समितिबाट त्यस्तो निर्माणको भाग भत्काउने वा हटाउने गरी निर्णय भएमा सो निर्णय भएको मितिले पैंतीस दिनभित्र र उजुरी नपरेकोमा उपदफा १०.१ बमोजिम समितिले आदेश दिएको मितिले पैंतीस दिनभित्र सम्बन्धित व्यक्तिले त्यस्तो निर्माणको भाग भत्काउनु वा हटाउनु पर्नेछ ।
१०.४ उपदफा १०.३ को म्यादभित्र सम्बन्धित व्यक्तिले त्यस्तो निर्माणको भाग नभत्काएमा वा नहटाएमा समिति आफैले भत्काउन वा हटाउन सक्नेछ र त्यसरी भत्काउँदा वा हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।
१०.५ उपदफा १०.४ बमोजिम समिति आफैले कुनै निर्माणको भाग भत्काउँदा वा हटाउँदा गाउँपालिका वा नगरपालिकाका सम्बन्धित वडाका सदस्यको रोहवरमा भत्काउनु वा हटाउनु पर्नेछ । यसरी भत्काउँदा वा हटाउँदा भरमग्दुर प्रयास गर्दा गर्दै पनि भत्काउनु वा हटाउनु पर्ने भागभन्दा बढी भाग भत्किन गएमा समिति जवाफदेही हुने छैन र त्यसरी बढी भाग भत्किन गई क्षति पुग्न गए बापत सम्बन्धित व्यक्तिले क्षतिपूर्ति माग गर्न पाउने छैन ।
१०.६ उपदफा १०.१ बमोजिम समितिले कुनै निर्माणको भाग भत्काउने वा हटाउने आदेश दिएकोमा सो निर्माणको भाग नभत्काए वा नहटाएसम्म त्यस्तो सम्पत्ति कसैलाई कुनै पनि व्यहोराले हक छाडी दिन वा धितो बन्धकी दिन नपाउने गरी रोक्का राख्न समितिले सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ र सम्बन्धित निकायले पनि लेखी आए बमोजिम गरीदिनु पर्नेछ ।